काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेलसँग शान्ति वार्तामा नबसे प्यालेस्टाइनलार्इ दिँदै अाएको अार्थिक सहायता रोक्ने चेतावनी दिएका छन् । उनले संयुक्त राज्य अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासमा सहभागी हुन सहमति नजनाएसम्म प्यालेस्टाइनलाई सहयता रकम उपलब्ध नगराउने बताएका हुन् ।
ट्रम्पले प्यालेस्टिनिहरू वार्तामा नआए शान्ति प्रयासका लागि गर्ने कुनै थप काम आफ्नो प्रशासनसँग नहुने बताएको बीबीसीले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले पनि प्यालेस्टाइनलाई उपलब्ध गराउन लागिएको सबै सहायताका बारेमा पुनर्विचार भइरहेको जनाएका छन् ।
प्यालेस्टाइनका पूर्व वार्ताकार साइब अरेकातले ट्रम्पलाई अन्तर्राष्ट्रिय कानूनलाई बेवास्ता गरेको र मध्यपूर्वलाई भाँडभैलोतर्फ उन्मुख गराएको आरोप लगाएका छन् ।
यता डाभोसमा इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु पनि उपस्थित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने, "उनीहरूले वार्ता गर्ने सबै भन्दा पेचिलो मुद्दा जेरुसलेम थियो, हामीले जेरुसलेमलाई टेबलबाट हटाइदियौँ, अब त्यसबारे कुरा गरिरहनु परेन, कुनै पनि वार्ता हुँदा लेनदेन हुन्छ कसैले केही पाउँछ केही छाड्छ।"
उनले थपे,"मलाई थाहा छैन अब फेरि वार्ता हुन्छ कि हुँदैन। तर उनीहरूले यो प्रक्रियालाई सम्मान गर्नैपर्छ र अमेरिकाले उनीहरूलाई निकै धेरै मद्दत गरेको स्वीकार गर्नुपर्छ।"
राष्ट्रपति ट्रम्पले जेरुसलेमलाई इजरेली राजधानीको मान्यता दिए यता प्यालेस्टाइनले ट्रम्प प्रशासन सम्मिलित कुनै पनि वार्तामा भाग लिन अस्वीकार गरेको छ।
प्यालेस्टाइन उक्त शहरको पूर्वी भागलाई आफ्नो देशको राजधानी बनाउन चाहन्छ । यही मुद्दाका कारण यसअघि नै ट्रम्प प्रशासनले राष्ट्रसंघीय सहायता निकाय यूएनआरडब्लुएलाई उपलब्ध गराउँदै आएको सहायता रकमको केही प्रतिशत रोक्का गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४