बुटवल । रुपन्देहीको तिलोत्तमामा घरमा सुतिरहेकी १० वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई शनिबार राति तिलोत्तमाकै कान्छी बजारस्थित जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली चलाइएको थियो । गोली लागेर उनको खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
थारुले बुधबार राति तिलोत्तमाकी १० वर्षीया बालिकालाई घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरेको प्रहरीको दाबी छ । राति करिब २ बजे बालिकालाई कपडा ओढाइदिन खोज्दा उनकी हजुरआमाले नभेटेपछि बालिका अपहरणमा परेको थाहा भएको थियो ।
सूचना पाएलगत्तै प्रहरीले बिहीबार बिहानदेखि गाउँ आसपास तथा स्थानीय जंगल क्षेत्रमा खोजी सुरु गरेको थियो । खोजीका क्रममा अपहरणमा संलग्न व्यक्तिको पहिचान गर्न सहयोग पुग्ने आधार फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले शुक्रबार साँझ करिब ७ बजे कान्छी बजारस्थित जंगलबाट अपहरण भएको करिब ३८ घण्टापछि बालिकाको सकुशल उद्धार गरेको थियो । बालिका उद्धार भए पनि घटनामा संलग्न थारु भने फरार थिए ।
बालिका उद्धार गरिएको स्थानमा भेटिएको मोबाइल फोनका आधारमा प्रहरीले थारुको पहिचान गरी खोजतलास जारी राखेको थियो । सोही क्रममा शनिबार राति करिब १ बजे उनलाई जंगलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अपहरणमा परेकी बालिका सकुशल रहेकी छन् । हाल उनलाई सुरक्षामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाका काका जितेन्द्र मल्लाहका अनुसार उनका बुवाआमा मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवार हुन् । प्रहरी सुरक्षामा रहेकी बालिकाको स्वास्थ्यमा अन्य समस्या नरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०८३