२९ मंसिर, काठमाडाैँ । उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । उहाँहरुबीच बिहीबार साँझ फोनमा कुराकानी भएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो समाचार सार्वजनिक गरेको छ । क्रेमलिनले प्रकाशन गरेको एक विज्ञप्तिमा भनिएको छ– अमेरिकी पक्षको चाहनामा रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच बिहीबार जरुरी विषयमा छलफल भएको छ । सो छलफलमा तत्कालका लागि जरुरी विषयका साथै विशेषगरी कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको छ । उक्त छलफलमा कोरियाका विषयमा मिलेर कामगर्ने बारेमा सहमति भएको थियो । क्रेमलिनद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ– कुराकानीको सुरुमा रुसी राष्ट्रपति पुटिनले अमेरिकाको अर्थतन्त्र र अमेरिकी राष्ट्रपतिका विषयमा सार्वजनिक गर्नुभएको अभिव्यक्तिप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले उहाँलाई धन्यवाद दिनुभएको थियो । त्यसपछि उहाँहरुबीच कोरियाको अवस्था प्रतिदिन झन खतरनाक हुदै गएकोले यस विषयलाई साझा चासोका रुपमा लिएर समस्या समाधानमा आपसमा मिलेर लाग्ने विषयमा उहाँहरुबीच सहमति भएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४