काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ ।
हुग्दी खोलानजिक पानीधारामा आइतबार बेलुकी ६ बजे ठूला चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सोमबार बिहान ११ बजे पहिरो पन्छाउने काम सम्पन्न भएसँगै सडकखण्ड सुचारु भएको नागढुंगा–मलेखु सडक आयोजना (पश्चिम खण्ड) ले जनाएको छ ।
आयोजनाले जारी गरेको सूचनामा भनिएको छ, ‘आज बिहान ११ बजे पहिरो पन्छाउने कार्य सम्पन्न भएसँगै सडकखण्ड सुचारु भएको छ । यद्यपि, धारापानी, फिस्लिङ र जवाङ खोलामा सडकको छेउतर्फ भासिएको छ । सो स्थानहरूमा भने सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।’
आइतबारदेखि वर्षा रोकिए पनि पहिरो झर्ने जोखिम कायमै रहेको आयोजनाले जनाएको छ ।
कृष्णभीर, धारापानी, फिस्लिङ, घोप्टेभीर, सिमलधारा, हुग्दीदेखि जवाङ खोलासम्मका जोखिमयुक्त क्षेत्रमा ढुंगा खस्ने सम्भावना रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आयोजनाले आग्रह गरेको छ ।
साथै, तोकिएको गति सीमा कायम राख्न, लेन अनुशासन पालना गर्न, जथाभावी ओभरटेक नगर्न तथा ट्राफिक नियम पूर्ण रूपमा पालना गर्दै संयमित र सावधानीपूर्वक यात्रा गर्न पनि आग्रह गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०८३