काठमाडौं । त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ।
रिद्धिसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा घाइते भएका चालकको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ छन्।
प्रहरीका अनुसार तामाङ २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा संलग्न थिए। उक्त घटनापछि उनी फरार रहेको खुलेको छ। अनुसन्धानका क्रममा उनले सुनिल तामाङको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको खुलेको एसएसपी घिमिरेले बताए।
यस्तै, तीन महिनाअघि काठमाडौंको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि उनले दाबा तामाङको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ।
त्रिपुरेश्वरको घटनामा पनि उनले दाबा लामाको नाममा रहेको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा तामाङले दाबा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ।
अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजात प्रयोग गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए।