२७ कात्तिक, काठमाडौँ । क्याटालोनियाको स्वतन्त्रताका पक्षधर नेताहरूलाई स्पेन सरकारले थुनामा राखेपछि उनीहरुको रिहाईको मागगर्दै दशौँ हजार क्याटालोनियालीले प्रदर्शन गरेका छन् । आइतबारबाट सडक प्रदर्शन सुरु गरेका उनीहरुले सोमबार पनि आफ्ना नेताहरुलाई नियन्त्रणमा लिएको विरोधमा बार्सिलोनामा प्रदर्शन गरेका छन् । ती मध्ये केहीलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको जनाएको छ । ती प्रदर्शनकारीहरुलाई पनि रिहा गरिएको छैन । सोमबार पनि क्याटालोनियालीले स्वतन्त्रता पक्षधर आफ्ना नेताको रिहाइका लागि माग गर्दै प्रदर्शन गरेका हुन् । स्वतन्त्रताको पक्षमा जनमतसंग्रहको परिणाम आएको भन्दै क्याटलोनियाको क्षेत्रीय संसद र क्षेत्रीय सरकारले क्याटोलोनियालाई स्वतन्त्र घोषणा गरेको थियो । तर त्यसलाई केन्द्र सरकारले भने मानेको छैन । त्यस लगत्तै स्पेनले क्षेत्रीय सरकारलाई निलम्बन गरी प्रत्यक्ष शासन शुरु गरेको थियो । हाल क्याटालोनियाको संसद र सरकार दुवै निलम्बनमा छ । स्पेनले नै सरकार चलाएको छ । क्याटलोनियाका आठजना क्षेत्रीय मन्त्री र दुईजना अभियानकर्ता सरकारी थुनामा छन् । उनीहरुको रिहाइको मागगर्दै प्रदर्शनकारीले सोमबार पनि आन्दोलन थालेका छन् । स्पेनको कदमपछि क्याटलोनियाका बर्खास्त राष्ट्रपति कारलस पुज्डमोन स्वेच्छाले बेल्जियम निर्वासनमा हुनुहुन्छ । उहाँका अभियानकर्ताहरूमाथि भने मुद्दा चलाइएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०७४