गोरखा : गोरखाको चुमनुब्री गाउँपालिकाका ११ जना स्थानीयले जलवायु परिवर्तन र हिमतालबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरणको माग गर्दै थालेको आमरण अनशन आइतबार तेस्रो दिन पनि जारी छ ।
चुमनुब्री–१ सामागाउँका १० जना र वडा नं. ७ का एक जना गरी ११ जना मनास्लु आधार शिविरभन्दा माथि समुद्री सतहबाट ५ हजार ३० मिटर उचाइमा अनशन बसेका हुन् ।
भारी हिमपातका बीच पनि अनशन जारी रहेको टोलीका अगुवा दावा नोर्बु लामाले जानकारी दिए । हिमपातका कारण आफूहरू बसेको पाल पुरिने अवस्था आएपछि हिउँ पन्छाउँदै अनशन जारी राख्नुपरेको उनले बताए ।
तीन दिनदेखि अत्यधिक चिसोमा बसेका कारण केही अनशनकारीको स्वास्थ्यमा समस्या देखिन थालेको लामाले बताए । उनका अनुसार केहीलाई पेटको समस्या देखिएको छ भने केही अत्यन्त कमजोर भएका छन् ।
आफ्ना माग सम्बोधनका लागि सरकारी निकायबाट ठोस पहल नभएको भन्दै उनले दुःख व्यक्त गरे । उनका अनुसार प्रमुख जिल्ला अधिकारी र मनास्लु संरक्षण क्षेत्र (एमक्याप) बाट फोनमार्फत माग सम्बोधनका लागि पहल भइरहेको जानकारी आए पनि निष्कर्ष नआएसम्म अनशन जारी रहनेछ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अनशनकारीसँग निरन्तर सम्पर्क भइरहेको बताए । अनशन तोडेर वार्ता र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरिरहेको उनले जानकारी दिए ।
मनास्लु संरक्षण क्षेत्रका प्रमुख अनिल प्रसाईंले पनि अनशनकारीसँग निरन्तर सम्पर्क गरी अनशन तोड्न आग्रह गरिरहेको र उनीहरूका माग क्रमशः पूरा गर्न पहल भइरहेको बताए ।
अनशनकारीहरूले हिमाली क्षेत्रमा नयाँ हिमताल थपिँदै गएको र वीरेन्द्रताललगायत हिमतालको पानीको सतह बढिरहेकाले नियमित निगरानी तथा नापजाँचका लागि प्रविधि जडान गर्नुपर्ने माग गरेका छन् । सम्भावित जोखिमबाट गाउँबस्तीलाई जोगाउन साइरन जडान गर्नुपर्ने तथा हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तन र जोखिम न्यूनीकरणसम्बन्धी पाठ्यक्रम बनाएर पढाउनुपर्ने उनीहरूको माग छ ।
त्यस्तै, भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिमबारे अध्ययन गर्नुपर्ने, नेपाल–चीन सीमा क्षेत्रमा रहेका हिमतालको नियमित संयुक्त निगरानी गर्नुपर्ने तथा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिका लागि जलवायु क्षतिपूर्ति र न्याय सुनिश्चित गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन् ।
अनशनमा सामागाउँका दावा नोर्बु लामा, निमा छिरिङ लामा, लेक्ष्य लामा, पासाङ नोर्बु लामा, छिरिङ फुञ्सोक लामा, टासी डुण्डुप लामा, छेवाङ घ्यूर्मे लामा, छेवाङ बाबा लामा, कर्मा छिरिङ लामा, पेम्बा छिरिङ लामा र चुमनुब्री–७ का पेम्बा गुरुङ सहभागी छन् ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३