६ कात्तिक, काठमाडौँ । जापानमा आइतबार सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको छ । जापानको संसदको म्याद करिब बर्ष्दिन बाँकी रहदै हिजो आइतबारका लागि आह्वान गरिएको मध्यावधी निर्वाचनको परिणाम सोमबार बिहानै प्राप्त भएको थियो । जापानी सरकारी टेलिभिजन एनएचकेले दिएको पछिल्लो विवरणअनुसार प्रधानमन्त्री सिन्जो आबेको दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले मात्र २८३ स्थामा जित हासिल गरेको छ । जापानको प्रतिनिधि सभा ४६५ सदस्यीय छ । त्यसैगरी उनको सत्ता गठबन्धनमा रहेको अर्काे दल कोमेइतो पार्टीले २९ स्थानमा जित हासिल गरेको छ । यसरी प्रधानमन्त्री आबेको सत्ताधारी गठबन्धनले ३१२ स्थानमा विजय हासिल गरेको छ । यो त्यहाँको संसदको दुई तिहाई बहुमत हो । टोकियोबाट प्राप्त समाचारहरुमा दोस्रो विश्वयुद्धपछि निर्माण भएका सरकारहरुको इतिहासमा नै आबे सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेताका रुपमा स्थापित भएका छन । प्रधानमन्त्री आबेले वर्तमान सत्तारुढ दललाई थप बलियो बनाउने र यसका माध्यमबाट देशमा आर्थिक एजेण्डाहरु अगाडि बढाउनुका साथै उत्तर कोरियाको पछिल्लो समयमा अघि बढेको आणविक होडका विरुद्धमा समयानुकुल नीति निर्माण गर्ने योजनाका साथ यो निर्वाचनको आह्वान गरेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४