५ कात्तिक, काठमाडौँ । स्पेन सरकारको क्षेत्रीय प्रशासनलाई निलम्बन गरेको विषयमा क्याटलोनियाका नेताहरुले बिरोध गरेका छन । उनीहरुले उक्त निर्णयलाई ‘कू’ को संज्ञा दिँदै निन्दा गरेका छन् । क्याटलान नेता कार्लस पुजमोनले स्पेनी राज्यले कू गरेको भन्दै क्याटलोनियाको अधिकारबारे लड्नका लागि अपिल गरेका छन । टेलिभिजनमार्फत गरिएको सम्बोधनमा पुजमोनले स्पेनी प्रधानमन्त्री मारिआनो राखोयको कदमलाई स्पेनका अधिनायकवादी शासक जेनेरल फ्रान्सिस्को फ्र्याङ्को कदमसँग दाँजेका छन । उनले क्याटलोनिया एउटा पुरानो युरोपेली राष्ट्र भएको र शान्तिपूर्ण र प्रजातान्त्रिक जनमतसंग्रहबाट आफ्नो भविष्यबारे निर्णय गर्नु अपराध नभएको बताएका छन । यसैबीच प्रधानमन्त्री राखोयले क्षेत्रीय सरकार र संसदलाई निलम्बन गर्ने र ताजा चुनाव गराउने आफ्ना योजना घोषणा गरेपछि राजधानी बार्सिलोनामा लाखौं मानिसहरु विरोध प्रदर्शनमा उत्रिएका छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४