लमजुङ । पहिरोका कारण बुधबार बिहानदेखि अवरुद्ध बेसीसहर–चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ।
सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर ढुंगा तथा पहिरो हटाएपछि आज बिहानदेखि सडक सञ्चालनमा आएको डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए।
उनका अनुसार खोत्रेमा पहिरोसँगै ठूला ढुंगा खसेका थिए। तीमध्ये एउटा ढुंगा निकै ठूलो भएकाले सडक खुलाउन बिहीबार पनि बम विस्फोट गराइएको थियो। पहिलो विस्फोटबाट ढुंगा पूर्ण रूपमा नफुटेपछि आज पुनः विस्फोट गराएर ढुंगा फुटाई पहिरो पन्छाइएको उनले बताए।
सडक खुलेसँगै साना सवारीसाधन सञ्चालनमा आएका छन्। सडक सञ्चालनमा आएपछि मनाङतर्फ आवतजावत गर्ने यात्रुलाई सहज भएको छ।
ठूला सवारीसाधन सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताए।
करिब ६५ किलोमिटर लामो बेसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो। मनाङवासीको आवतजावतसँगै दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ढुवानी र पर्यटकीय आवागमनका लागि यो सडक महत्वपूर्ण मानिन्छ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३