२७ असोज, काठमाडौँ । संयुक्त राज्य अमेरिका युनेस्कोको सदस्यबाट हट्ने निर्णयप्रति संयुक्त राष्ट्रसंघ र फ्रान्सले दुःख व्यक्त गरेका छन् । उनीहरुले अमेरिकाले यो निर्णय गर्नु सुखद होइन भनेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले विश्वमा हिंसा बढिरहेको र ठूलो सङ्ख्यका बालबालिका पनि यस युद्धको चपेटामा परिरहेको यस समयमा युनेस्कोले शिक्षामा लगानी बढाउनुपर्ने समय भएको उल्लेख गरेका छन । यस्तो समयमा अमेरिकाले युनेस्को छोड्नुले यो विश्वव्यापी अभियानलाई नै असर पार्ने अवस्था पनि आउनसक्ने राष्ट्रसंघले जनाएको छ । अमेरिकाको यो युनेस्कोबाट अलग हुने निर्णयको कार्यान्वयन सन् २०१८ को डिसेम्बर ३१ बाट सुरु हुने बताइएको छ । त्यसअघिसम्म अमेरिका युनेस्कोको पूर्ण सदस्यकै रुपमा रहिरहने छ । फ्रान्सको राजधानी पेरिसमा मुख्यालय रहेको युनेस्कोबाट आफ्नो प्रतिनिधित्व हट्ने सम्बन्धी निर्णय अमेरिकाले बिहीबार गराएको थियो । अमेरिका र इजरायलले युनेस्कोका कतिपय निर्णयहरुप्रति असहमति प्रकट गर्दै आएका थिए । यही पृष्ठभूमिमा शुक्रबार अमेरिकाले उक्त निर्णय गरेको थियो । इजरायलले पनि अमेरिकी निर्णयको स्वागत गरेको छ । प्यालेस्टाइनलाई युनेस्कोले सन् २०११ मा पूर्ण सदस्यता दिने निर्णय गरेपछि अमेरिकाले त्यसको विरोध गरेको थियो । सो निर्णयको इजरायलले पनि कडा विरोध गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४