काठमाडौं । संसदमा विश्वासको मत लिनका लागि प्रधानमन्त्री ओलीले राखेको प्रस्तावका लागि मतदान सुरु भएको छ । सभामुख अग्नि सापकोटाले मत विभाजनका लागि प्रक्रिया सुरु गरेका हुन् । यससँगै सबै सांसदले आफ्नो मत अभिव्यक्त गर्नेछन् भने त्यसअनुसार ओलीले विश्वासको मत पाउने नपाउने बारे निर्णय आउनेछ ।
प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक हुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि आजका लागि बैठक बोलाएकी हुन् ।
मतदान प्रक्रियामा पिसिआर नेगेटिभ नतिजा भएकालाई मुख्य सभाकक्षमा मतदानको व्यवस्था मिलाइएको छ भने पोजिटिभ संक्रमितलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइएको छ।
विश्वासको मतको प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको छ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८