काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले आज सरकारलाई गरेको समर्थन फिर्ता लिएको जानकारीसहित संसद् सचिवालयलाई पत्र बुझाएको हो ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रका प्रतिनिधिसभामा ५० सदस्य छन् ।
सरकारले वैशाख २७ गते संसद् अधिवेशन बोलाई विश्वासको मत लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते संसद् अधिवेशन आह्वान गरेकी हुन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८