काठमाडौँ । अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई बर्खास्त गरिएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको कोटाबाट राजदूत नियुक्त दाहाललाई दुई वर्षे कार्यकाल रहँदै फिर्ता बोलाउने निर्णय गरेको हो ।
यसअघि राजदूत लक्की शेर्पा आर्थिक मामिला सम्बन्धी विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्य समेत रहेका दाहाल माओवादीमा प्रवेश गर्नुअघि काँग्रेस निकट तरुण दलमा आबद्ध थिए ।
२०७४ सालको चुनावमा प्रचण्डलाई सहयोग गरेपछि उनी माओवादी प्रवेश गरेका थिए । सरकारले प्रचण्ड निकट लीलामणि पोखरेललाई चीनको राजदूतबाट पनि फिर्ता बोलाएको थियो ।
साथै, मन्त्रिपरिषद् बैठकले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई निरन्तरता दिने निर्णय गरेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८