काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको वीर अस्पतालमा नवनिर्मित भवनलाई पाँच सय शय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् ।
सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास वैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा। खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका हुन् ।
कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै काठमाडौँ उपत्यकामा कोरोनाका बिरामीहरू बढिरहेका छन् । हाल कोरोनाको उपचार गराइरहेका अस्पतालहरूमा बिरामीको संख्या बढेपछि बेडको अभाव भएको गुनासो आएपछि सिसिएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ ।
उपप्रधानमन्त्री पोखरेलले आइतबार नै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई पनि टेलिफोन गरी कोरोनाका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिएका थिए । उनले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन समेत दिएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८