काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा आज बिहानदेखि जारी गरेको निषेधाज्ञामा ३२ सय प्रहरी परिचालन गरेको छ । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्न थालेपछि रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा निषेधाज्ञालाई कडा बनाइएको हो ।
काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरेको छ। निषेधाज्ञाको मतलब नगरी र विभिन्न बहाना बनाएर सवारी साधनसहित बाहिर निस्कँदै नियम नमान्नेलाई प्रहरीले कारबाही गरिरहेको छ ।
निषेधाज्ञा प्रभावकारी बनाउनका लागि काठमाडौँ उपत्यकाका ३ जिल्लामा ३ हजार २ सय नेपाल प्रहरी र ५ सय ट्राफिक प्रहरी परिचालन गरिएको काठमाडौँ महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठौरले बताए।
उनले त्यसका लागि उपत्यकाका ५६ स्थानमा ट्राफिक र नेपाल प्रहरीले संयुक्त रूपमा चेकजाँच गरिरहेको जानकारी दिँदै काठमाडौँमा ४४, ललितपुरमा ८ र भक्तपुरका ४ स्थानमा चेकजाँच भइरहेको पनि बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८