काठमाडौँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । सोमबार बिहान काठमाडौँ, ललितपुर र भक्तपुरका प्रशासनबिच भएको छलफलपछि आगामी वैशाख १६ गते मध्यरातदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी गरिएको सहभागी एक अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने छन् भने निजी र सार्वजनिक यातायात दुवै बन्द हुनेछन्। त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाइने तयारी छ ।
दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइएको छ ।
सरकारले अत्यावश्यक भनी तोकेका क्षेत्रका कर्मचारीलाई भने पास र सम्बन्धित कार्यालयको परिचयपत्रका अनुसार आवतजावत भने गर्न दिइने छ ।
सोमबार बिहान काठमाडौँ, भक्तपुर र ललितपुर प्रशासनको बैठकपछि गृह मन्त्रालयसँग निषेधाज्ञाको खाका र समयावधिबारे परामर्श भएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८