१५ साउन, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने कि नगर्ने भन्न बारेमा सर्वोच्च अदालतमा चलिरहेको बहस आज सकिएको छ । पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध रिट दायर गरेका गुञ्जमान विक पक्षका वकिलहरुले आज जवाफी बहस गरेका छन । जवाफी बहस सकिएको र अब फैसला आउन बाँकी रहेको अधिवक्ता विजयकान्त मैनालीले जानकारी दिए । उनले फैसला आजै आउने सम्भावना रहेको बताए । न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा साउन २ गतेदेखि मुद्दामा सुनुवाई हुँदै आएको छ । मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको हो । रिट दायर भएको २ महिना पुग्न लाग्दा समेत फैसला नहुँदा निर्वाचित प्रतिनिधिले काम गर्न पाएका छैनन् ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७४