काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् ।
कोरोना भाइरस संक्रमण पुष्टि भएपछि निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल राज्य लक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह आज (शनिबार) दिउँसो नर्भिकमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए ।
अस्पतालका अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।
वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वार स्नान र भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८