काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको दोस्रो लहरले अबका ६३ दिनसम्म एकदमै कठिन परिस्थिति सिर्जना हुनसक्ने बताएको छ । मंगलबार पत्रकारहरुसँगको कुराकानीमा बोल्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले ‘कोरोनाको पहिलो वेभ पार गरे पनि दोस्रो वेभको गम्भीर मोडमा पुगेको बताए ।
उनले भने,‘कोरोनाको पहिलो वेभ पार गरे पनि दोस्रो वेभको गम्भीर मोडमा हामी पुगेका छौँ । स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डको पूर्ण पालना होस्’
मन्त्री त्रिपाठीले विगतमा देश र जनताले ठूलो क्षति व्यहोर्नुपरेकोले यसपटक सकभर लकडाउन नगर्ने बताउँदै सरकार लकडाउन गर्ने पक्षमा नभएको र त्यस्तो अवस्था आउन दिने कि नदिने जिम्मा नागरिकमै भएको धारणा व्यक्त गरे ।
हाल कोरोना संक्रमण दर २१.५५ प्रतिशत पुगेको छ । अबका नौ हप्ता अर्थात् ६३ दिन निकै कठिन हुने मन्त्रालयले बताएको छ। स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरिए ६३ दिनपछि भने संक्रमण क्रमशः घट्दै जाने छ ।
मंगलबार मत्रै देशभर आठ हजार ५५ जनाको पिसिआर परीक्षण गर्दा १,७३६ जनामा संक्रमण पुष्टि भएको छ । जुन कुल परीक्षणको २१ दशमलब ५५ प्रतिशत हो । यस अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
छलफलमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने, ‘विश्वभरको तथ्यांक र विगतमा नेपालमा देखिएका केसलाई अध्ययन गर्दा ९८ दिनसम्म संक्रमण उच्च बिन्दुमा पुग्ने अनुमान गरेका छौँ, जटिल अवस्थाका ३५ दिन पार गरिसकेका छौँ । अब हाम्रा लागि नौ हप्ता अर्थात् ६३ दिन ज्यादै कठिन छ । जोखिम कति उठाउने भन्ने आमनागरिककै हातमा छ ।’ कोरोना केही होइन भन्ने भ्रम पालेर जनस्वास्थ्यका मापदण्ड पालना नगरे अवस्था सोचेभन्दा फरक भएर जाने सचिव अर्यालको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८