काठमाडौँ । नेपाल राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौँले थुनामा पठाउन आदेश दिएपछि उनलाई सोमबार कारागार चलान गरिएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।
अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको हो ।
आफ्नै आमाको सम्पत्ति हिनामिना गरेर हेरचाह नगरी बेवास्ता गरेको भन्दै उनीविरुद्ध परेको जाहेरीका आधारमा २२ चैतमा प्रहरीले पक्राउ गरेको थियो ।
रिजालकी ८४ वर्षीया आमाले आफ्नो सम्पत्ति अनधिकृत रूपमा निकालेर लगेको भन्दै जाहेरी दिएकाले पक्राउ गरिएको प्रहरीको दाबी छ ।
माछापुच्छ्रे« बैङ्कमा रहेको रकम र लकरमा रहेका सुनचाँदी अनधिकृत रूपमा निकालेको भन्दै रिजालकी आमाले जाहेरी दिएकी थिइन्। आफ्नो सेयर समेत झुक्याएर बिक्री गरेको जाहेरीमा उल्लेख छ।
आफूहरूको ३ करोड बढीको सम्पत्ति लगे पनि हेरचाह नगरेको बृद्धाले दिएको जाहेरीमा उल्लेख छ।
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७