काठमाडौं । विश्वभर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस धुमधामका साथ मनाउने गरिन्छ । प्रत्येक वर्ष मार्च ८ मा मनाउने अन्तर्राष्ट्रिय महिला दिवसलाई विश्वले महिला जागरूकतासम्बन्धी दिवसका रुपमा लिएको छ। राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरू सहित अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको छ।
यसै अवसरमा सर्वाङ्गीण अध्ययन विकास केन्द्र र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको लैंगिक अध्ययन विभागको समन्वयमा नेपालमा पहिलो पटक आइतबार बलात्कार विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ। साथै बलात्कार बिरुद्ध पाँच हप्ते नीति संवाद कार्यक्रम पनि शुरु भएको छ।
सर्वाङ्गीण अध्ययन विकास केन्द्रकी निर्देशक सुचिता प्याकुरेलका अनुसार 'छलफलमा बलात्कार किन भइरहेको छ ? यसरी किन बढिरहेको छ ? दुई वर्षयता झन बढ्नुको करण के हो ? किन बढिरहेको छ भन्ने कुराबारे संवाद भएको थियो । कुनै नीतिमा पनि ग्याप छ कि भन्नेबारे नीति संवाद गरिएको छ ।'
उनका अनुसार स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. सुधा शर्मा, महिला हिंसा विरुद्धको अभियन्ता निरा ढुंगाना, अवकाश प्राप्त एसपी गीता उप्रेती, प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र छिरिङ के लामा युवा प्रकृति भट्टराई बस्नेत नीति संवादमा सहभागी थिए ।
बलात्कार पीडितले कुरा लुकाउने, मेडिकल रिपोर्टका लागि प्रमाण नस्ट गरिदिने समस्या देखिएको उनीहरूको भनाइ थियो । यस विषयमा पीडित नै संवेदनशील नहुँदा घटना बढिरहेको वक्ताहरूको निष्कर्ष छ ।
आइतबार भएको कार्यक्रम बलात्कार बिरुद्धमा आवाज उठाउन प्रेरित गर्नका लागि थियो भने पांच हप्ते नीति संवाद अभियान लैंगिक कोर्स हो। लैगिक कोर्स बलात्कार बिरुद्धमा मात्र नभई सचेतनामा पनि केन्द्रित हुनेछ।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७