काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी संगठनले केन्द्रीय संघर्ष समिति घोषणा गरेको छ। संगठनका सहसंयोजक कृष्ण केसीको संयोजकत्वमा संघर्ष समितिको घोषणा गरिएको हो।
संगठनका केन्द्रीय संयोजक डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा बसेको बैठकले १७५ सदस्यीय संघर्ष समिति घोषणासहित बौद्धिक आन्दोलनको सुरुवात गर्ने बताएको छ।
संघर्ष समितिले प्रतिनिधि सभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी,अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमका विरुद्ध बौद्धिक गतिविधि र संघर्षका कार्यक्रमहरुको संयोजन र नेतृत्व गर्नेछ।
बैठकले संयुक्त अन्तरक्रियाको व्यवस्थापन, २८ गतेको जनप्रदर्शनको समन्वय, बौद्धिक सुझाव लगायतका कामका लागि केन्द्रीय संघर्ष समितिका सदस्यहरुलाई जिम्मेवारीसमेत तोकेको छ।
बैठकमा बोल्दै संगठनका केन्द्रीय संयोजक डा. दिनेशचन्द्र देवकोटाले बुद्धिजीवीहरुको सकारात्मक र रचनात्मक भूमिकाले मात्र प्रतिगमनलाई परास्त गर्न सकिने भएकाले बुद्धिजीवीहरुले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताए।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७