३ साउन, काठमाडौँ । काठमाडौंमा स्काइ रेलको अध्ययन गरिरहेको साइमिक्स इङ्क प्राइभेट लिमिटेडले काठमाडौं महानगरपालिकालाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार काठमाडौंमा स्काइ रेल स्थापना गर्न सके अहिलेको यातायात आवागमन सहज हुने देखिएको छ । प्रतिवेदनले काठमाडौंमा स्काइ रेल बनाउन सके नागरिकल निर्धारित समयमा सहज यात्रा गर्न पाउने र वातावरणमा पनि सुधार हुने देखाएको छ । काठमाडौं महानगरपालिका र स्थानीय साइमिक्स इङ्क प्राइभेट लिमिटेड बिच स्काइ रेल सञ्चालन सम्भाव्यता अध्ययनका लगि २०७३ माघ २६ गते भएको सम्झौता अनुसार महानगरमा क्षेत्रमा गरिएको अध्ययनले देखाएको तथ्य अनुसन्धानकर्ताले महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई बुझाएका हुन् । प्रतिवेदन बुझाउनुअघि कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत अनुप बस्नेतले महानगर क्षेत्रमा स्काइ रेलको सम्भावना अध्ययन गर्दा तिलगंगाबाट, एयरपोर्ट, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलंकीसम्म सञ्चालन गर्न सकिने देखिएको बताए । त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भुबाट बौद्धसम्म पनि स्काइरेल सञ्चालन गर्न सकिने बताए । चिनियाँ कम्पनी बिवाइडीसँगको सहकार्यमा सञ्चालन सम्भाव्यता अध्ययन भैरहेकोले लागत सहितको अन्य विवरण भने विस्तृत परियोजना प्रतिवेदनमा मात्र थाहा हुने उनले बताए ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७४