३ साउन, बाँके । नेपाल चिकित्सक संघ, भेरी अञ्चल समितिको आह्वानमा मंगलबारदेखि बाँके जिल्लामा सञ्चालित सबै अस्पतालको सेवा बन्द गरिएको छ । गत असार २८ गते नेपालगन्जस्थित जानकी अस्पतालका चिकित्सक डा श्यामसुन्दर यादवलाई दुव्र्यवहार गर्ने अभियुक्तमाथि स्थानीय प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएको विरोधमा संघले मंगलबारदेखि अनिश्चितकालीन अस्पताल बन्दको आह्वान गरेको हो । संघका सचिव डा आरके झाका अनुसार चिकित्सक डा यादवमाथि दुव्र्यवहार र अस्पतालमा क्षति पु¥याउने पाँच जनाको नाम किटान गरी निवेदन दिँदा समेत स्थानीय प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएकाले बाध्य भएर आन्दोलन आह्वान गरिएको हो । सङ्घको आह्वानमा त्यहाँका सरकारी तथा निजी अस्पताल र निजी क्लिनिकसमेत बन्द गरिए पनि अस्पतालका आपत्कालीन सेवा भने सञ्चालनमा राखिएको छ । संघले सो घटनामा सन्दीप सिंह, यादव बस्याल, कमल शाही र महेश खतिवडा अभियुक्त भएको किटानी जाहेरी दिएको थियो । अहिले जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबीच सो घटनाका विषयमा छलफल भइरहेको बाँकेका प्रजिअ रविलाल पन्थले जानकारी दिनुभयो । अस्पतालका सेवा बन्द गरिएकाले टाढा टाढाबाट उपचारका लागि नेपालगन्ज आएका बिरामी र तिनका आफन्तले सास्ती भोग्नुपरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७४