बुटवल । रुपन्देहीमा एक महिलालाई बलात्कार गरेको अभियोगमा एकजना प्रहरी जवानसहित २ जना पक्राउ परेका छन्। कञ्चन गाउँपालिकामा एक महिलालाई सामुहिक बलात्कार गरेको र अर्की एकजनाको नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित २ जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गएको कात्तिक २३ गते नातामा दिदी–बहिनी पर्ने दुई मध्य दिदिलाई ट्राफिक प्रहरी जवान शर्मासहित चारजनाले सामूहिक बलात्कार गरेको पीडितले आरोप लगाएका छन् । बहिनीको नग्न तस्बिर लिएर दिदीलाई ब्ल्याकमेल गरी सामूहिक बलात्कार गरेको पिडितको आरोप छ ।
उक्त घटनामा चार जनाविरुद्ध जाहेरी परेको र त्यसमध्ये दुइ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले बताए।
‘कात्तिक २३ गते बेलुका साढे ८ बजे घट्ना भएको भन्ने छ। ट्राफिक प्रहरीका जवान पनि संलग्न छन्,’ उनले भने।कपिलवस्तुको वाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको एसपी पोखरेलले बताए।
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७