२ साउन, काठमाडौँ । भरतपुर प्रकरणमा केहीबेरमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने कि नगर्ने भन्नेबारे अदालतले आदेश दिनेछ । मुद्दा न्यायाधीशहरु ओम प्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा तोकिएको छ । उक्त इजलाशमा अन्य मुद्दा नरहेकाले आज सुनुवाई हुने सम्भावना रहेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको सपथ ग्रहण र पदवहालीको कार्यक्रमले सुनुवाइको समय भने केही पर धकेलिएको छ । भरतपुर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको दुई महिना वित्दा पनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन् भने चुनाव जितेका वडा अध्यक्ष र सदस्यहरुले पनि काम गर्न पाएका छैनन् ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७४