१ साउन, रामेछाप । गएराति परेको अविरल वर्षाका कारण रामेछापको खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा दुईको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले दुई जनाको मृत्यु भएको पुष्टि गरे । बाढीले घर बगाउँदा छतिवन खोला नजिकै घर भएका कुमार खत्रीकी ७५ वर्षीया आमा लालकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका छन् । प्रहरीका अनुसार, इन्द्रबहादुर खत्रीको रोपाइँमा काम गर्न मन्थली नगरपालिका, गेलुबाट आएका वासु भनिने जयप्रकाश कार्कीको शव तामाकोसीको हलेदीमा फेला परेको छ । खत्रीको हराइरहेकी पत्नी भने भेटिएकी छैनन् । खिम्ती खोलाको बाढीले घर बगाउँदा अशोक तामाङ र उनकी छोरी बेपत्ता छन् । त्यसैगरी अन्य छ जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । पुल नजिकका दुई घरसमेत बगेका छन् । शनिबार दिउँसोदेखि खिम्ती क्षेत्रमा वर्षा भएको थियो । राति १० बजेपछि खहरे र छत्तिवनेमा बाढी बढेको थियो । स्थानीयवासीका अनुसार खिम्तीबजारमा रहेका खहरेपुलको उत्तरतर्फको गल्छीबाट बजार क्षेत्रमा बाढी पसेकाले केही घरमा क्षति पुगेको छ । बजारमा पार्किङ गरेका सवारीसाधनमा पनि बाढीले क्षति पु¥याएको छ । खहरेपुल निर्माणाधीन अवस्थामा भएकाले डाइभर्सन सडक भएको स्थानबाट खोलो बजार पसेको थियो । खिम्तीमा बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि राति पुग्ने प्रयास गरे पनि बाटो भत्किएका कारण अहिले बिहान प्रहरी घटनास्थलमा पुगी शव खोजिरहेको प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले बताए ।

प्रकाशित मिति: शनिबार, असार ३१, २०७४