३० असार । लामो समयदेखि जेलमा रहेर बिहीबार निधन भएका एकजना चिनियाँ अधिकारवादीको विषय आफ्नो आन्तरिक भएको चीन सरकारले जनाएको छ । लामो समयदेखि जेल जीवन बिताइरहनु भएका नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लिउ जियाओबोको बिहीबार ६१ वर्षको उमेरमा निधन भएपछि विश्व समुदायमा विभिन्न टिकाटिप्पणीहरु आएका छन् । यी सबै टिकाटिप्पणीहरुको खण्डन गर्दै चीनले यस विषय चीनको आफ्नो आन्तरिक मामिला भएकोले कुनै पनि टिप्पणी नगर्न सबैलाई आग्रह गरेको हो । विश्वका कतिपय देशले लिउको उपचार चीनले राम्रोसँग नगरेको र पचारका लागि विदेश जान पनि नदिएको बताएका छन् । कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पीडित लिउलाई केहीदिन अगाडि राष्ट्रिय एवम् अन्तर्रा्ष्ट्रिय दबाबपछि जेलमुक्त गरी उपचारका लागि अस्पताल लगिएको थियो । तर उहाँको उपचारमा त्यति ध्यान नदिइएको विश्व समुदायको भनाई आएको छ । उत्तरपूर्वी चिनियाँ प्रान्त सेन्याङमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उहाँको निधन भएको तथ्य आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । उहाँलाई तीनदिनदेखि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । तर पनि श्वासप्रश्वास प्रणालीमा अवरोध आएको र बुधबार अवस्था थप कमजोर भएको अस्पताल स्रोतले जनाएको थियो र बिहीबार साँझ नै उहाँको निधन भएको खबर सो अस्पतालले सार्वजनिक गरेको हो ।
प्रकाशित मिति: बिहीबार, असार २९, २०७४