काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरिक्षण गरेकी छिन् । आज(बुधबार) विहान विभागमा पुगेकी मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको ‘ब्रिफिङ’ गरेका थिए ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा मन्त्री अर्याल नियुक्त भएपछी मन्त्रालय अन्तर्गतका मातहत निकायहरुको ब्रिफिङ लिन शुरु गरेकी छिन् । त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरुको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको बताइन् । खाद्यवस्तुको गुणस्तर परिक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने मन्त्री अर्यालको भनाई थियो ।
मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्रहरु थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउन समेत कर्मचारीहरुलाई निर्देशन दिइन् । नीति, नियम, ऐनहरु निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडी बढाउन उनले आग्रह गरिन् । प्रबद्र्धनात्मक कार्यमा आवश्यक पर्ने कार्यमा ध्यान दिन समेत मन्त्री अर्यालले आग्रह गरिन् ।
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७