१२ असार, चितवन । एकातर्फ त्रिशूली नदी र अर्काेतर्फ अग्लो पहाड भएको नारायणगढ–मुग्लिन सडक खण्डका २९ ठाउँलाई भूगर्भविद्ले पहिरोको दृष्टिकोणले उच्च जोखिमको रुपमा औँल्याएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता बिएन सिंहको नेतृत्वको पाँच सदस्सीय टोली र भूगर्वविद् टुकलाल अधिकारीले गरेको छुट्टाछुट्टै अध्ययनले ती ठाउँलाई जोखिमपूर्ण भनी सावधानी अपनाउन सुझाव दिएका छन् । आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार जलवीरेदेखि मुग्लिनसम्मका स्थान जोखिमपूर्ण रहेका छन् । उक्त क्षेत्र सात किलोमिटरभित्र पर्दछ । अन्य क्षेत्र जलवीरेबाट नारायणगढतर्फ पर्दछन् । खनालका अनुसार अध्ययनमा तत्काल र दीर्घकालीन रुपमा जोखिम हुन सक्ने क्षेत्रलाई छुट्याइएको छ । भूगर्वविद् अधिकारीले मुख्यरुपमा कालीखोला आसपासको मात्र अध्ययन गरी प्रतिवेदन बुझाउनुभएको छ भने सिंहको टोलीले समग्र नारायणगढ–मुग्लिन सडकखण्डको प्रतिवेदन पेस गर्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, असार ११, २०७४