१२ असार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको पर्व इदका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज शुभकामना सन्देश जारी गर्दै धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इदुल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै उप–राष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीको महान् पर्व इदको शुभ अवसरमा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासको कालखण्डमा नेपाली मुस्लिम समुदायले देखाएको धार्मिक सहिष्णुता अनुकरणीय रहेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व इदका अवसरमा आज उहाँले प्रेम र सद्भाव आदानप्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदायलाई स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: आइतबार, असार ११, २०७४