काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको नयाँ सदस्य सचिवमा शरदचन्द्र अधिकारी नियुक्त भएका छन्। उनी चैनपुर नगरपालिका–३, संखुवासभा निवासी हून् । उनले शुक्रबार नै पदबहालीसमेत गरेका छन्। उनलाई कोषमा कार्यकारी अधिकृत डा. सिद्धार्थ वज्राचार्य, निर्देशक सरिता ज्ञवालीलगायतका कर्मचारीहरुले स्वागत गरेका थिए।
पदबहाली गर्दै नवनियुक्त सदस्यसचिव अधिकारीले संरक्षणको क्षेत्रमा नेपाल सरकारले लिएका नीतिहरुलाई सशक्त र प्रभावकारी ढंगले कार्यन्वयन गर्नु नै आफ्नो कार्यकालको मुख्य ध्येय हुने बताए। उनले नेपाल सरकारले लिएको राष्ट्रिय लक्ष्य सुखी नेपाली, समृद्ध नेपालको साझा लक्ष्यलाई संरक्षणका कार्यक्रमहरुमा जोडेर त्यो लक्ष्य पूरा गर्न कोष सक्रिय हुने बताए।
कोषका अध्यक्ष तथा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ (संशोधनसहित) को दफा ५ च को व्यवस्था बमोजिम पाँच वर्षका लागि कोषको सदस्य सचिवमा अधिकारीलाई नियुक्त गरेका हुन्। शुक्रबारदेखि नै लागू हुने गरी अधिकारी कोषको सदस्य सचिव नियुक्त भएका हुन्।
अधिकारी यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको जनसम्पर्क तथा सञ्चार विज्ञका रूपमा कार्यरत थिए। विगत साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रसँग सम्बद्ध अधिकारीले कान्तिपुर दैनिक, समय साप्ताहिक, सेतोपाटीलगायतका सञ्चारमाध्यममा काम गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अधिकारीले थुप्रै पत्रपत्रिका तथा पुस्तकहरूको सम्पादन तथा लेखनसमेत गरेका छन्। अधिकारीले यसअघि झन्डै आधा दशकसम्म कोषको सूचना तथा जनसम्पर्क अधिकृतका रूपमा समेत काम गरिसकेका छन्।
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७