काठमाडौं–उपत्यकामा जारी जोरबिजोर प्रणाली आज शुक्रबारबाट हट्ने भएको छ। बिहीबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित यातायात व्यवसायीको छलफलपछि जोरबिजोर हटाउने निर्णय गरेको हो।
यातायात मजदूर तथा यातायात व्यवसायीहरुले काठमाडौं उपत्यकामा कायम रहेको जोरबिजोर प्रणाली नमान्ने भन्दै सिसिएमसीलगायतलाई ज्ञापन पत्र बुझाएका थिए। सरकारले काठमाडौं उपत्यकामा असोज १ देखि लागू गरेको जोरबिजोर प्रणाली पुस ३ गतेदेखि हटाउने निर्णय भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए।
उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर लागू हुँदै आएको छ। यातायात व्यवसायी तथा मजदूर युनियनका प्रतिनिधिहरुले गत मंसिर १८ गते सिसिएमसी र डिसिसिएमसी कार्यालयलाई ध्यानाकर्षण गराउँदा समेत सरकारले जोरबिजोर हटाउने विषयमा निर्णय नगरेको उनीहरुको आरोप थियो।
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७