काठमाडौँ । उखुमिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएसम्म उखु किसानहरु गाउँ नफर्किने अडानमा छन। सरकारसंगको सम्झौता अनुसार उखु मिलहरुले रकम चुक्ता नगरेको भन्दै हिजोबाट आन्दोलन शुरु भएको छ । करिब ९० करोड रुपैयाँ बाँकी रहेको भन्दै सर्लाहीबाट आएका किसानहरुले आन्दोलन शुरु गरेका हुन् ।
बक्यौता रकम तिर्ने भनेर चिनी मिलले सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै किसानहरूले आइतबार माइतीघरमा मण्डलामा शान्तीपुर्ण आन्दोलन गरेका हुन् ।
उनीहरू ‘श्रम, पसिनाको मूल्य पाउँ’, ‘किसानहरू मार्न पाइँदैन’ लगायतका विभन्न नारा लेखिएका प्लेकार्डहरू बोकेर प्रदर्शनमा उपस्थित थिए ।रकम भुक्तानीको माग गर्दै किसानहरु काठमाडौँमा आन्दोलन गरेपछि मन्त्रालयले २०७६ पुस १८ गते उखु किसानसँग ५ बुदे सम्झैता गरेको थियो ।
मन्त्रालयले तत्काल भुक्तानीको वातावारण बनाउने, मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष बितिसक्दा पनि किसानहरुले अझै उखुको पैसा पाएका छैनन् ।
आफूहरुले सरकारसँग सम्झौता भएपछि आन्दोलनका लागि पुनः काठमाडौं आउनुनपर्ने ठानेको तर सम्झौता कार्यान्वयन नभएपछि बाध्य भएर आन्दोलनमा आउनुपरेको उनले बताए।
अब जस्तो सुकै हालतमा पनि पैसा नलिई गाउँ नफर्किने उखु किसानहरुले बताए। उनीहरु भन्छन -बरु यहीँ मर्छौं तर पैसा नलिई घर जादैनौं । हाम्रो पिडा र समस्या सरकारले बुझ्दैन भने लाखौ किसान काठमाडौँमा उतार्नेछौ उनीहरुले भने-अब सहन सक्दैनौ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७