काठमाडौं– सातामा दुई दिन सार्वजनिक बिदा दिन बनेको सरकारी अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले हप्तामा दुई दिन बिदा दिन सम्भव रहेको भन्दै प्रतिवेदन मार्फत सरकारलाई बिदा दिन सिफारिस गरेको हो ।
हाल विश्वका ८८ भन्दा बढि मुलुकहरूमा हप्ताको दुई दिन बिदा दिने प्रचलन रहेकोमा नेपालले पनि सोही प्रयोग गर्न सके, आन्तरिक पर्यटन प्रवर्द्धनका साथै सार्वजनिक खर्चमा कटौती, इन्धन खपतमा कटौती, उत्पादकत्व वृद्धिले लगायतका धेरै क्षेत्रमा फाइदा पुग्ने अध्ययन समितिले बताएको छ ।
यसका लागि सरकारी कर्मचारीहरूलाई मात्र नभएर निजी क्षेत्रका कर्मचारीहरूलाई समेत सातामा दुई दिन सार्वजनिक बिदा दिन उपयुक्त हुने भन्दै अध्ययन समितिले निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्न सिफारिस गरेको छ । हाल नेपालमा हप्ताको एकदिने शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७