७ असार, बर्दिया । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले कहीबाट पनि जित्न नसक्ने देखेपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले निर्वाचन बहिष्कार गरेको आरोप लगाएका छन । प्रेस चौतारी नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले राजपाले तराई मधेशका स्थानीय तहमा पनि निर्वाचन जित्न नसक्ने देखेपछि बहिष्कारमा लागेको बताए । उनले मुट्ठीभरका व्यक्तिहरुको पार्टी तराई मधेशका जनताबाट बहिष्कृत भएको दावी गरे । उपाध्यक्ष गौतमले भने, ‘हाम्रो संविधानमा कुनै समुदाय, जातजाति र भौगोलिक अवस्था अनुसार पार्टी खोल्न नपाइने स्पष्ट लेखिएको छ तर सरकारले त्यसलाई प्रश्रय दिएको छ ।’ गौतमले वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाए । स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपाप्रति इंगित गर्दै उपाध्यक्ष गौतमले कुनै समुदायको पार्टीलाई ल्याउनुपर्ने भन्दै सरकारले स्थानीय तहको निर्वाचन पटक पटक सारिरहेको बताए । उनले दोस्रो चरणको निर्वाचनमा पनि एमाले नै पहिलो हुने दाबी गरे ।
प्रकाशित मिति: मंगलबार, असार ६, २०७४