६ असार, काठमाडौँ । विश्व शरणार्थी दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । शरणार्थी सम्बन्धी जनचेतना फैलाउने र शरणार्थीको पक्षमा एकताबद्ध हुन आग्रह गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन २० मा यो दिवस मनाउने गरिएको छ । विश्वमा अहिले हरेक ११३ जनामा एकजना शरणार्थी बन्न बाध्य रहेको तथ्यांक छ । अहिले विश्वमा ६ करोड ५६ लाख भन्दा बढी शरणार्थी छन् भने हरेक दिन हजारौं परिवार आफ्नो घर छोड्न बाध्य छन् । दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले शरणार्थीले आफ्नो घर तथा ठाउँ छोड्न बाध्य भएपनि आफ्नो सपना तोड्न बाध्य नहुने र उनीहरुको सपना पूरा गर्नका लागि सबै एकताबद्ध भएर सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपालमा पनि दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदैछ । नेपालमा भुटानी र तिब्बती शरणार्थी लामो समयदेखि बस्दैआएका छन् । यस्तै विगतको द्वन्द्वका कारण आन्तरिक रुपमा विस्थापित भएकाको व्यवस्थापनका लागि पनि काम गर्नु पर्ने सरोकारवालाले बताएका छन् । विश्वमा युद्ध, भोकमरी, मौसमी प्रतिकुलताका कारण लाखौं मानिस आफ्नो घर छोडेर शरणार्थी बन्न बाध्य हुने गरेका छन् । शरणार्थीको पक्षमा विश्व समुदायलाई एकताबद्ध गर्न संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोग युएनएचसिआरले विभिन्न काम गर्दै गएको छ । आयोगले गएको वर्षको जुनदेखि ‘शरणार्थीसँग’ नामक अभियान चलाएको छ । शरणार्थी बन्न बाध्य हरेक बालबालिकाले शिक्षा पाउनु पर्ने, शरणार्थी परिवारले सुरक्षित बास पाउनुपर्ने र हरेक शरणार्थीले नयाँ कुरा सिक्न तथा क्षमता अनुसारको काम गर्न पाउनुपर्नेमा युएनएचसिआरले जोड दिँदै अभियान सुरु गरेको हो ।
प्रकाशित मिति: सोमबार, असार ५, २०७४