१ असार, काठमाडौँ । सरकारले राष्ट्रिय जनता पार्टीसँग सहमतिको अन्तिम प्रयास गरिरहेको छ । अहिले सिंहदरबारमा प्रमुख दलका नेता र राजपाको नेताहरुको बीचमा सहमतिको लागि छलफल भैरहेको छ । राजपाको माग अनुसार सरकारले निर्वाचको मिति सार्न र निर्वाचनको कार्यक्रम परिवर्तन गर्न प्रधानमन्त्रीले आज बिहानमात्रै निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन । यसअघि बुधबारको बैठकमा राष्ट्रिय जनता पार्टी राजपा नेपालले असार १४ गने हुने दोस्रो चरणको चुनाव सार्न गरेको प्रस्ताव गरेको थियो । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपाका नेताविच सिंहदरबारमा भएको वार्तामा राजपाका नेताले संविधान संशोधन गरेर आफूहरुलाई पनि चुनावमा भाग लिने वातावरण बनाउन आग्रह गरेका थिए । राजापका नेताहरुले यसअघि पनि चुनाव सार्न सरकारलाई आग्रह गरेका थिए । उनीहरुकै आग्रहमा चुनाव ३ पटक सरेको थियो । तर मुख्य दलहरुले भने चुनावपछि संविधान संशोधन गर्ने भन्दै १४ गतेकै चुनावमा भाग लिन आग्रह गरेका थिए । बैठकपछि एमाले संसदिय दलका उपनेता सुभास नेम्वाङले असार १४ गतेको चुनाव कुनै पनि हालतमा सार्न नसकिने अडान राखेको बताउनुभयो । यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजपालाई चुनावमा ल्याउन छलफल जारी राखेको र आज छलफल गरेर निष्कर्षमा पुग्ने बताउनुभयो । तर राजपाका नेता सरतसिंह भन्डारीले भने सरकारले सबै दललाई चुनावमा सहभागी हुने वातावरण मिलाउनुपर्ने भन्दै पहल गर्न आग्रह गरिएको बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०७४