१ असार, काठमाडौँ । कक्षा ११ को परीक्षा बिहीबारबाट सुरु भएको छ । यस पटक ४ लाख ४९ हजार ५४ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएका छन । परीक्षा मर्यादित बनाउन केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, प्रहरी र कर्मचारी सहित ४१ हजार परिचालन भएका छन् । परीक्षामा मोवाइल फोन, स्मार्ट घडी, क्यालकुलेटर बाहेक इलेक्ट्रिोनिक्स डिभाइस लैजान निषेध गरेको छ । बोर्डले आजदेखि लिने कक्षा ११ को परीक्षामा छात्रभन्दा छात्राको सहभागिता बढी भएको परीक्षा नियन्त्रक डम्बरकुमार बतासेले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ११ को परीक्षामा २ लाख ११ हजार ६ सय ८१ जना छात्र र २ लाख ३७ हजार ३ सय ७३ जना छात्राले परीक्षा दिँदैछन् । परीक्षामा नियमिततर्फ ३ लाख ४८ हजार ६० र आशिंक तर्फ १ लाख ९ सय ९४ जना भएको पनि परीक्षा नियन्त्रक बतासेले बताउनुभयो । हाल ३ हजार ७ सय ६५ विद्यालयले कक्षा ११ मा पठाउँदै आएका छन् । उनीहरुलाई आजदेखि हुने परीक्षाका लागि ९ सय ९३ परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ । काठमाडौंमा मात्रै १ सय ११ केन्द्र निर्धारण गरिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०७४