१ असार, काठमाडौँ । कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस दैलेखको आठवीस नगरपालिका ४ नैनलदेव मन्दिर नजिक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले बसमा ३२ जना यात्रु सवार रहेको जनाएको छ । बस कर्णाली राजमार्गबाट ३ सय मिटर तल कर्णाली नदी किनारमा खसेको छ । दुर्घटनामा घाइते भएका २१ जनामध्ये २ जनाको मात्र हेलिकप्टरबाट उद्दार भएको छ । दुर्घटनामा घाइते भएका अन्य १९ यात्रुको बुधवार राती अबेरसम्ममा उद्दार भएको छ । पहुँचवालाको मात्र उद्दार भएपछि अन्य घाइतेका आफन्तहरु आक्रोशित बनेका छन् । प्रहरीका अनुसार अधिकांश घाइतेको अबस्था गम्भीर छ । उनीहरुलाई प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत र नेपालगन्ज पठाइएको छ । एम्बुलेन्समार्फत बिरामी लिदा दैलेखबाट सुर्खेत पुग्न पाँच घन्टा लाग्ने भएकाले थप समस्या हुने भन्दै आफन्त आक्रोशित भएका हुन । प्रहरीले मृत्यु हुनेहरुमा ८ पुरुष, २ महिला र १ नावालक रहेको बताएको छ । मृतक सबैको सनाखत भएकोे प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा विनायक नगरपालिका अछामका सिंहा नेपाली, रुपा नेपाली, अछामकै भैरवस्थानका धिरेन्द्र बीसी, राजकोट नगरपालिका–६ कालिकोटका युवराज शाही, शान्नि त्रिवेणी गाउँपालिका, कालिकोटका सुनिल शाही, रासकोट नगरपालिका–५ कालिकोटका धर्मराज शाही, प्रकाश शाही, कविता शाही र मेनका फर्साल र बाजुराका मंगल कसेरा रहेका छन ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०७४