३० जेठ, काठमाडौँ । सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिबाट पारित भएको छ । मंगलवार बसेको समिति बैठकले पेस भएको ८ महिनापछि विधेयक पारित गरेको हो । उक्त विधेयकलाई नेपालको श्रम इतिहासमा ऐतिहासिक ठानिएको छ । श्रम विधेयकले कानुनी रुप लिएर कार्यान्वयनमा आउँदा करिब १४ लाख नेपाली श्रमिक लाभान्वित हुने अुनमान गरिएको छ । विधेयकले वृद्व अवस्थामा सुरक्षा योजना, आश्रित परिवारका लागि सुरक्षा योजना, बेरोजगार सुरक्षा योजना, कोषले तोकेको अन्य सामाजिक सुरक्षा योजना लगायतलाई समेटेको छ । त्यस्तै विधेयकले चोटपटक तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना र दूर्घटना तथा अशक्त सुरक्षा योजनालाई प्रत्याभूत गरेको छ । झण्डै ४ वर्षअघि तयार विधेयक मंगलवार पारित भएको हो । विधेयकले ऐनको रुपमा लिएपछि रोजगारदाता कम्पनीबाट २० प्रतिशत, श्रमिक आफैंबाट ११ प्रतिशत र करबापत १ प्रतिशत गरी कुल ३२ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जानेछ । यसले श्रमिकको भविष्यलाई सुनिश्चित गर्नेछ । हाल अर्थमन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोषको १४ अर्ब रुपैयाँ पनि उक्त कोषमा जम्मा हुनेछ ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०७४