२९ जेठ, बारा । बारामा निर्वाचन आयोगको गतिबिधिमा राजापाको कार्यकर्ताले अबरोध सिर्जना गरेका छन । मतदान अधिकृतहरुका लागि सोमबार आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अवरोध पुर्याउन गएका राष्ट्रिय जनता पार्टीका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । कलैयास्थित रामराजा मोहन विक्रम शाह क्याम्पसमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अवरोध पुर्याउन गएका राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता र प्रहरीबिच झडप भएको हो । झडपमा परी चार जना आन्दोलनकारी घाइते भएका छन् । यसैबिच कलैयामा सोमबार अपरान्ह राजपाका कार्यकर्ताहरुले मतदान अधिकृतको तालिममा सहभागी भएका सरकारी कार्यालयका कर्मचारीहरुलाइ हातपात गर्नुका साथै उनीहरु सवार गाडीमा तोडफोड पनि गरेका छन् । राजपाका कार्यकर्ताहरुको आक्रमणबाट क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका डाक्टर विश्वेशर प्रसाद यादव हातमा चोट लागेको छ । यस्तै राजपाका कार्यकर्ताहरुले उखु बाली विकास केन्द्र परवानीपुरका शंकर श्रेष्ठको मोटरसाइकलमा तोडफोड गर्दै हातपात गरेर उनको कपडा पनि च्यातिदिएका छन् । राजपाका कार्यकर्ताहरुले मतदान अधिकृतको तालिम लिएर फर्कदै गरेका कर्मचारीहरु सवार बा २ झ २४०२ र बा ३ च ६८८ नम्बरको सरकारी गाडी र तीन वटा मोटरसाइकलमा तोडफोड पनि गरेका छन् । तोडफोडमा संलग्न भन्दै प्रहरीले राजपाका कार्यकर्ता पटेललाई पक्राउ गरिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०७४