२९ जेठ, सिरहा । नेकपा एमालेले सिरहाको धनगढीमाई नगरपालिका र बडियारपट्टी गाउँपालिकाबाहेक सबै नगरपालिका र गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार चयन गरेको छ । उम्मेदवारको टुंगो लागेपछि एमालेले प्रचारप्रसारलाई तीव्र बनाएको छ । एमाले सिरहाका अध्यक्ष प्रमोद यादवका अनुसार एमालेले लहान नगरपालिकाकाको प्रमुखमा मुनी साह, गोलबजार नगारपालिकाको प्रमुखमा श्याम श्रेष्ठ, मिर्चैया नगरपालिकाको प्रमुखमा प्रदीप महासेठ र सुखीपुर नगरपालिकाको प्रमुखमा रामअवतार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी कल्याणपुर नगरपालिकाको प्रमुखमा रामपुकार साह, सिरहा नगरपालिकाको प्रमुखमा डा नवीन यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । स्थानीय तहको घोषित दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै गए पनि सिरहामा नेकपा (एमाले) बाहेकका राजनीतिक दलहरूले भने अझै उम्मेदवार तय गर्न सकेको छैन । उम्मेदवारका आकांक्षी बढी देखिएकाले उम्मेदवारी मनोनयन दर्ता गराउने समय चार दिनमात्र बाँकी रहँदा पनि अधिकांश दलहरूलाई उम्मेवार तय गर्न सकस भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टीलगायतका दलहरूले उम्मेदवार तयका लागि अन्तिम तयारी गरिरहेको जनाएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति तथा सांसद रामचन्द्र यादवले जिल्लाका अधिकांश स्थानीय तहमा उम्मेदवार टुङ्गो लागिसकेको र अबको केही दिनभित्रै सबै उम्मेदवारको नाम सार्वजनिक गरिने बताए । यस्तै सङ्घीय समाजवादी फोरमका जिल्ला अध्यक्ष बादवप्रसाद यादवले अहिले उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले पार्टी्भित्र उम्मेदवार छनोटबारे गृहकार्य भइरहेकाले चाँडै उम्मेवादर टुङ्गो लाग्ने बताए । सिरहाको सात नगरपालिका र १० गाउँपालिकामा ४२६ वटा मतदान केन्द्र तय गरिएको छ भने भने तीन लाख ३१ हजार ५९६ मतदाता रहेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०७४