२५ जेठ, रौतहट । विस्फोटक पदार्थसहित एकजना सञ्चारकर्मीसहित रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विस्फोटक पदार्थसहित गेस्ट हाउसमा दुईजना बसिरहेको भन्ने विशेष सूचनाको आधारमा रौतहट प्रहरीले चन्द्रपुर नगरपालिकामा रहेको सुर्दशन होटलबाट ३० वटा जिलेटिन, २२ वटा डिटोनेटर र चार फिट फ्युजसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोख्रेलले बताएका छन् । प्रहरीले ग ३ प ३९११ नम्बरको यामाहा मोटरसाइकल पनि बरामद भएको छ । पक्राउ पर्नेमा झापाको धर्मपुर वार्ड नम्बर ६ का दिलिप थापा र तारा थापा रहेका छन् । दिलिप थापाले २०७३ असोज १६ को मितिमा सूचना विभागबाट रातो खबर साप्ताहिकको प्रेस पास बोकेको पाइएको छ । पक्राउ परेका दुवैजना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको प्रहरीको अनुमान छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०७४