२० जेठ, काठमाडौँ । निर्वाचन आयोगले भरतपुरमहानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगले मतपत्र च्यात्ने माओवादीको केन्द्रको मागकै आधारमा भरतपुर १९ मा पुनःमतदानको निर्णय लिएको हो । आयोगले वडा नं. १९ को सम्पूर्ण मत बदरगरी नयाँ निर्वाचन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । प्रहरीले मतपत्र च्यात्ने माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीका विरुद्धमा जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको छ भने उनीहरु एक/एक लाख धरौटीमा रिहा भैसकेका छन । अायाेगले सत्ताको स्वार्थमा मतपत्र च्यात्नैकै मागमा कानुनसम्मत निर्णय गरेपनि न्ययाको हत्या गरेको छ ।अायोगको निर्णयले एउटा गलत नजिर समेत स्थापित गरेको छ। कसैले पराजित हुने भएपछि मतपत्र च्यान्ने र पुनःमतदान गराउने खतरा यो नजिरले स्थापित गराएको छ ।
आयोगले मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि भएको निष्कर्ष निकालेको छ । मुख्य निर्वाचन अधिकृतले मतपत्र च्यातिएको र मतगणना स्थल रणभूमितुल्य भएको प्रतिवेदन पठाएको भन्दै आयोगको निर्णयमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरी मतदान रद्द गर्ने । ऐनको दफा ५० को उपदफा (५) बमोजिम मतदान रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।
यसअघि निर्वाचन आयोगको निर्देशनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार दलका प्रमुख, उम्मेदवार, उनका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको रोहवरमा सिल गरी राखिएको च्यातिएको मतपत्र गन्दा ९० मतपत्र गन्न नमिल्ने गरी च्यातिएको पाइएको थियो । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भरतपुर महानगरपालिका वडा नं १९ मा कुल दुई हजार ८९७ मत खसेकामा एक हजार ८०९ मतगणना भइसकेको, ९९८ मत गन्न मिल्ने अवस्थामा रहेको र बाँकी ९० मत पूर्णरुपमा नोक्सान भएको बताए । उनले त्यसको प्रतिवेदन बिहीबार नै निर्वाचन आयोगमा पठाएको जानकारी दिएका थिए । च्यातिएको मतपत्र गणनापछि नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीले धेरै मतपत्र च्यातिएकाले पुनःमतदान हुनुपर्ने जनाएको भए पनि निर्वाचन आयोगको निर्णय स्वीकार गर्ने बताएका थिए।
नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले च्यातिएका मतपत्र निर्णायक नभएकाले तिनलाई बदर गरी मतगणना सञ्चालन गर्नुपर्ने बताए भने माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदीले धेरै सङ्ख्यामा मतपत्र च्यातिएकाले पुनःमतदानको विकल्प नरहेको बताएका थिए । मतगणना जारी रहेका बेला गत आइतबार मतपत्र च्यातिएपछि सिल गरेर राखिएको मतगणना केन्द्र खोलेर च्यातिएका मतपत्रको गणना गरिएको हो । मुख्य निर्वाचन अधिकृत न्यौपानेले उम्मेदवार, तीनका प्रतिनिधि र पार्टीका प्रमुख गरी ४६ जनालाई मात्र छुटै पासको व्यवस्था गरी प्रवेश गराएर मतपत्रको अवस्थाका बारेमा अध्ययन गरिएको बताए । मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र नेकपा एमालेले छुट्टाछुट्टै ताला लगाएका थिए । दिउँसो २ः३० बजे ताला खोलेर च्यातिएको मतपत्रको अवस्था बुझ्नुका साथै तथ्याङ्क लिन सुरु गरिएको थियो ।
यसअघि निर्वाचन आयोगबाट सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा आएको टोलीले मत च्यातिँदा रहेका प्रत्यक्षदर्शी, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग घटनाका बारेमा जानकारी लिएको थियो । सोको प्रतिवेदन टोलीले आयोगमा बुधबार बुझाएसँगै निर्वाचन आयोगले च्यातिएको मतपत्रका बारेमा तथ्याङ्क लिन मुख्य निर्वाचन अधिकृतलाई निर्देश गरेको थियो । नेकपा एमालेले मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको बताएको छ भने माओवादी केन्द्रले एमालेले मतपत्र च्यात्न थालेपछि जोगाउने क्रममा च्यातिएको जनाएको छ । मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका माओवादी केन्द्रका दुई जना प्रतिनिधिलाई आज जिल्ला अदालत चितवनले जनही रु एक लाख धरौटीमा रिहा गरेको छ ।
भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको हो । अब वडा नं २० को मात्र मतगणना बाँकी रहेको छ । १९ नं को एक हजार ८०० मतगणना हुँदासम्म नेकपा एमालेका देवीप्रसाद ज्ञवालीको ४१ हजार ६४१ र माओवादी केन्द्रकी रेणु दाहालको ४० हजार ९०८ रहेको छ । महानगरपालिकामा प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा ७३३ मतले अगाडि रहेका छन। महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०७४