१८ जेठ, काठमाडौँ । प्रहरी नायव महानिरीक्षक नवराज सिलवालको प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा पुनःअसार १ गते सुनुवाइ हुने तय भएको छ । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा बिहीबार सुनुवाइ सुरु भई बहस बाँकी भएको हुँदा हेर्दाहेर्दै पुनःआगामी असार १ गते सुनुवाइ हुने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले बताए । सर्वोच्चमा न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारीको इजालसले मुद्दा हेर्न सुरु गरेको छ । बिहीबार निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए ।
असुरक्षित भएको भन्दै मानवअधिकार आयोगमा उजुरी
यसैबीच शान्ति सुरक्षा पाउँ भन्दै प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी हालेका छन । प्रहरी नायव महानिरीक्षक सिलवालले आफूमाथि सुराकी खटाइएकाले बाँच्न पाउने मौलिक अधिकार हनन् भएको भन्दै बुधबार मानव अधिकार आयोगमा उजुरी दिएका हुन । डिआइजी सिलवालले आयोगमा उजुरी हालेको मानव अधिकार आयोगका अनुसन्धान विभाग प्रमुख कोषराज न्यौपानेले पुष्टि गरे । उनले उजुरी अनुसार दुईजना प्रहरीले सिलवाललाई पिछा गरेको र सानेपामा पक्राउ गरी सोध्दा प्रहरी प्रधान कार्यालयले पठाएको भन्ने बेहोराको उजुरी प्राप्त भएको बताए ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०७४