१७ जेठ, काठमाडौँ । दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते बुधबार गर्ने सरकारले निर्णय गरेको छ । यसअघि सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पुनः पाँच दिन पर सार्ने निर्णय गरेको हो । मुसलमान समुदायको पवित्र पर्व रमजानको अन्तिम दिन असार ९ गते परेकाले सरकारले निर्वाचन पर सारेको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो चरणको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगका पदाधिकारीसित मङ्गलबार छलफलसमेत गरेका थिए । पूर्व निर्धारित जेठ ३१ को मितिलाई परिवर्तन गर्दै सरकारले यसअघि दोश्रो चरणको निर्वाचन असाढ ९ गते गर्ने निर्णय गरेको थियो । त्यतिबेला तराईमा आन्दोलका कार्यक्रम घोषणा गरेको राजपा नेपाललाई सहमतिमा ल्याउन मिति सारिएको थियो भने अहिले मुस्लिम समुदायको पर्व रमजानका कारण सारिएको जनाइएको छ । मंगलबार मात्रै असाढ ९ गते तोकिएको निर्वाचन सार्न मुस्लिम समुदायका अगुवाहरुले प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०७४