१४ जेठ, काठमाडौँ । नेकपा एमालेले जननेता स्व मदन भण्डारीका नाममा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ का लागि नाम सिफारिस गर्न नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज जारी गरेको पे्रस विज्ञप्तिमा मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि नाम सिफारिस गर्न नेपाल पत्रकार महासङ्घका अध्यक्ष विष्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको उल्लेख छ । पत्रकारिताका माध्यमबाट लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने सो पुरस्कार सिफारिस समितिमा वरिष्ठ पत्रकार तथा साहित्यकार शार्दुल भट्टराई र पत्रकार शीतल साह सदस्य हुनुहुन्छ । उक्त पुरस्कार एमालेका पूर्वमहासचिव तथा जननेता मदन भण्डारीको स्मृति दिवस (जेठ ३) पारेर प्रदान गर्ने गरिएकोमा यस वर्ष चुनावका कारण सो मितिमा सम्भव नभएकाले उहाँको जन्म दिन (असार १४) को सन्दर्भ पारेर पुरस्कार वितरण गरिने विज्ञप्तिमा उल्लेख छ । पार्टीको केन्द्रीय प्रचार विभागले गत वर्ष स्थापना गरेको उक्त पुरस्कार गत वर्ष वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई प्रदान गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०७४