१४ जेठ, बैतडी । नेकपा माओवादी केन्द्रका एक दर्जन केन्द्रिय नेताहरु आज नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन । बैतडी सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टीका प्रदेश नम्बर ७ का इन्चार्ज भीमबहादुर कडायतले माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल रतोकी सहित एक दर्जन केन्द्रिय सदस्यहरुलाई नयाँ शक्तिमा भित्र्याएका छन । माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु दिपक साउद ‘शिखर’, अमरसिंह रतोकी ‘अविषेक’, रामनाथ योगी ‘तुफान’, भुवनदेव भट्ट ‘तुफान’, मनिलाल बिक ‘मनोज’, गोपाल रतोकी, राजेन्द्र बोहरा, रमेश रखैला, सुर्यप्रकाश भण्डारी लगायत रहेका छन । गएको बिहिबार मात्रै नयाँ शक्ति पार्टीका डोटी संयोजक शिवसिंह ओली लगायतका जिल्ला नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेपछि डोटी जिल्ला नयाँ शक्ति विहीन भएको भन्दै माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा टिका टिप्पणी गरेका थिए । नयाँ शक्तिले भने डोटीको छिमेकी जिल्ला बैतडीमा माओवादी केन्द्रका प्रभावशाली नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याएको विषयलाई डोटीको नोक्सान बैतडीमा पूर्ती गरेको प्रतिक्रिया दिएका छन ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०७४